उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ आम्बोटेमा ब्रेक फेल भएर बोलेरो दुर्घटना, ८ जना घाइते

प्रकाशित : आइतबार, कार्तिक ०७, २०७८ , मसलापाटी

मसलापाटी

०७ कार्तिक,उदयपुर । ब्रेक फेल भएर बोलेरो दुर्घटना हुँदा उदयपुरमा ८ जना यात्रु घाइते भएका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ आम्बोटे बोलेरो दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

बर्रेबाट कटारी तर्फ जाँदै गरेको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार दुर्घटनाग्रस्त बोलेरोमा सवार उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ का ४३ वर्षिय खिलराज तामाङ, २० वर्षीय आशिष खड्का घाइते भएका छन् । त्यस्तै उदयपुरगढी गाउँपालिकाकै वडा नम्बर ४ का ५० वर्षीया सुनमाया तामाङ, २३ वर्षीया हिरा तामाङ, ३८ वर्षकी चिनमाया तामाङ, १५ वर्षीय मेखबहादुर बस्नेत घाइते भएका छन् ।

त्यसैगरी उदयपुर बाहीर घर दोलखा जिल्ला विगुल गाउँपालिका ४ बस्ने २६ वर्षका सन्दीप ठकुरी र २४ वर्षिय एसिला कार्कीसमेत घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज लिलबहादुर श्रेष्ठका अनुसार घाइतेहरुको अहिले जिल्ला अस्पताल उदयपुर बोक्सेमा उपचार भइरहेको छ ।

उनीहरुको हात, खुट्टा, ढाँडमा चोट लागेको इन्चार्ज श्रेष्ठको भनाई छ । ओरालोमा आउँदै गर्दा ब्रेक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२१-१०-२४ , समय : १३:००:५७ , ३ वर्ष अगाडि