खोटाङमा आज हुने परीक्षाका लागि रातभर पढेर सुतेका एक विद्यार्थी मृत फेला

प्रकाशित : मंगलबार, साउन १९, २०७८ , मसलापाटी

मसलापाटी

१९ साउन,खोटाङ । आज हुने परीक्षामा सहभागी हुन रातभर अबेरसम्म पढेर सुतेका एक परीक्षार्थी खोटाङमा मृत भेटिएका छन् । बिएड प्रथम वर्षको परीक्षा दिदै गरेका परीक्षार्र्थी ४६ वर्षीय शिवराज राई मृत अवस्थामा भेटिएका हुन् ।

जिल्लाको रावाबेँसी गाउँपालिका वडा नम्बर २ खार्पास्थित रावा क्याम्पस खार्पा परीक्षा केन्द्रबाट परीक्षामा सहभागी हुदै आएका हलेसी तुवाचुङ नगरपालिका ६ मंगलटारका राई आफ्नै कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मृतक राई रावाबेंसी २ का लुकराज श्रेष्ठको घरमा डेरा लिएर परीक्षा दिदै आएका थिए ।

रावा क्याम्पसका उपप्राध्यपक गोपाल बस्नेतका अनुसार बेलुका खाना खाएर सुतेका राई बिहान परीक्षा सुरु हुनेबेलासम्म नउठेपछि हेर्न जाँदा कोठामा मृत फेला भेटिएका थिए । उनी हलेसी तुवाचुङस्थित हलेसी क्याम्पसमा अध्ययनरत थिए । मृतकका साथीहरुलाई उधृत गर्दै उपप्रध्यापक बस्नेतले भने, ‘उनले साथीहरुलाई आफू रातभर पढ्ने भएकाले बिहान ढिलो उठाई ढिलो भए चाँडै उठाउन आग्रह गरेका रहेछन् ।

तर, बिहान अबेरसम्म नउठेपछि उठाउन जाँदा प्राण गईसकेको अवस्थामा भेटिएछन् ।’ ‘हाई ब्लड प्रेसर’को औषधी सेवन गर्दै आएका राईले यसअघि तीन वटा विषयको परीक्षा दिइसकेका थिए । सोमबार ऐच्छिक अंग्रेजीको परीक्षा दिने तयारीमा रातभर पढेर सुतेका उनी कहिल्यै नउठ्ने गरी निदाएका हुन् ।

प्रकाशित मिति: २०२१-०८-०३ , समय : १२:२६:३३ , ३ वर्ष अगाडि