यहि हो इटहरीमा १ करोड १७ लाखमा बनेको वडा कार्यालय, स्थानिय तीन छक्क

प्रकाशित : बिहिबार, साउन १४, २०७८ , मसलापाटी

मसलापाटी

१४ साउन,इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी भ्रष्टाचारका कडा विरोधी मानिन्छन् ।तुलनात्मक रुपमा सादगी छवीका चौधरी इटहरी उपमहानगरपालिकाको मेयरमा निर्वाचित भए पश्चात पनि तडकभडक नगर्ने जनप्रतिनिधिका रुपमा परिचित छन् ।लो प्रोफाईलमै रहन रुचाउने मेयर चौधरीकै नेतृत्वमा रहेको इटहरी उपमहानगरपालिकाको २ नम्बर वडा कार्यालय उद्घाटन पश्चात भने वडा कार्यालय भवनको लागत देखेर स्थानिय तीन छक्क परेका छन ।इटहरी उपमहानगरपालिका वडा नं. २ को भवन उद्घाटन पश्चात नगर प्रमुख चौधरीका स्वकीय सचिव महेश्वर कार्की र इटहरी उपमहानगपालिकाका प्रेस सल्लाहकार लिलाराज भट्टराईले भवन उद्घाटन कार्यक्रमको बारेमा जानकारी दिदै भवनको लागत सहितको विवरण सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि नयाँ भवनको लागतमा अनियमितता भएको स्थानियबासी बताउँछन ।

इटहरी उपमहानगरपालिका वडा नं. २ को भवन उद्घाटन भई भवनको लागत र तस्बीर समेत प्रकाशित भएपछि सामाजिक संजालमा सक्रिय नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले समेत आफ्नो फेसबुक वालमा भवनको तस्वीर र लागतको विषयमा टिप्पणी गरेका थिए ।

इटहरी उपमहानगरपालिका वडा नं. २ को यो भवन १ करोड १७ लाख ६० हजारको लागतमा बनेको सार्वजनिक भएको छ । २ नं. वडा कार्यालयको प्रशासनिक भवन निर्माण सम्पन्न भई लागत सार्वजनिक भएसँगै भवन निर्माणमा भ्रष्टाचार भएको आशंका व्यक्त हुन थालेको छ । भवनको अवस्था, क्षेत्रफल र यसको बनोटलाई हेरेर यसमा भ्रष्टाचार पो भएको छ कि भनेर शंका गर्ने प्रशस्त आधार भएको धारणा सामाजिक संजालमा समेत व्यक्त नभएका होईनन ।

सामान्यतया अहिलेको भवन निर्माण मापदण्ड तथा आचारसंहिता पालना गरेर भवन निर्माण गर्ने हो भने पनि उल्लेखित भवन निर्माणका लागि त्यतिका रकम खर्च नहुने विज्ञ तथा जानकारहरुको भनाई छ । इटहरी २ को वडा कार्यालय भवन हेरेपश्चात जो कोही स्थानीयबासी वा सर्वसाधारण ठेक्का प्रक्रिया देखि नै मिलेमतो गरेर लागत बढाईएको आंशका गर्छन ।

उल्लेखित लागतमा के कस्तो गुणस्तर र स्ट्याण्डर्डको भवन बन्छ बन्ने जो कोहीले अनुमान गर्न सक्ने तर वडा कार्यालय भवन निर्माणको लागत विश्वास गर्न नसकिने तर्क स्थानीयबासीको छ । लामो समय पश्चात जनप्रतिनिधि पाएर पनि जनताले तिरेको करको दुरुपयोग हुने हो भने जनप्रतिनिधि र व्यवस्था प्रति नै जनताको विश्वास डगमगाउने स्थानीयवासीको भनाई छ ।

जति लागत भनिएको छ त्यति लागत अहिलेको बजार मुल्य अनुसार खर्च हुन नसक्ने बताउँछन स्थानिय युवा निराजन पाण्डे। स्थानीय सरकारको संयन्त्रहरुलाई प्रभावकारी रुपमा संचालन गर्न नीजि भौतिक संरचना हुनु सकारात्मक पक्ष भए पनि भौतिक संरचना निर्माणमा प्रश्न चिन्ह खडा भएपश्चात निर्माण कार्यमा भएको खर्च पारदर्शी रुपमा देखाउनु स्थानीय सरकारको दायित्व हो ।

जनताप्रति जवाफदेही हुँदै इटहरी उपमहानगरपालिका वडा नं. २ को कार्यालय भवनको यथार्थ लागत सार्वजनिक गर्न जरुरी छ ।सञ्चारपाटी.कमबाट

प्रकाशित मिति: २०२१-०७-२९ , समय : ०७:००:१५ , ३ वर्ष अगाडि