त्रियुगा नमुना माविलाई स्कुल बस हस्तान्तरण

प्रकाशित : बिहिबार, आषाढ २३, २०७९ , सरोज निरौला

सरोज निरौला

उदयपुर । भारतीय दुतावासले उपलब्ध गराएको स्कुल बस त्रियुगा नगरपालिका स्थित त्रियुगा माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमबीच नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्काले विद्यालयलाई उक्त बसको चाबी (साचो) हस्तान्तरण गरेका हुन् ।

टाढाटाढाका विद्यार्थीलाई घर–विद्यालय आउजाउ गर्न सहज बनाउने उद्देश्यले विद्यालयको आग्रह अनुसार दुतावासले बस उपलब्ध गराएको हो। माविलाई प्राप्त भएको बसले त्रियुगा नगरपालिकाको लालपत्ता, कालीखोला, चुहाडे, जलजले लगायतका विद्यार्थी लाभान्वित हुने बिद्यालयका प्रधानाध्यापक सुबाश बिष्टले जानकारी दिए ।

बसको साँचो हस्तान्तरण गर्दै डा. खड्काले छिमेकी मुलुक भारतले बर्षौ देखी नेपाललाई सहयोग गर्दै आएको सिलसिलामा स्कुल बस दिएको जानकारी दिए ।

उदयपुर निर्वाचन क्षेत्र १ का संघीय सांसद समेत रहेका खड्काले नेपालको हरेकक्षेत्रमा भारतले सहयोग गर्दै आएको स्मरण गर्दै मोतिगडा फत्तेपुर सडकलाई पनि आवश्यक सहयोग गर्ने बिषयमा प्रधानमन्त्री स्तरीय छलफल भएको र प्राथमिकतामा परेको बताए ।

डा. खड्काले त्रियुगा नगरपालिका २ जोगिदहमा सगरमाथा विमानस्थल निर्माणधिन अबस्थामा रहेकाले त्यसले अब चाडै निर्माणकार्य सुरु भएर मुर्त रुप दिने उल्लेख गरे । उनले यहाँ बिमानस्थल बने अनेकौं रोजगारी सिर्जना हुने, देश बिदेशका नागरिक आउने लगानी कर्ता आउने बाताबरण बन्दा हाम्रै नगर समाजको बिकास हुने प्रश्ट पारे । सामाजिक संजाल तथा चोक चौतारामा विमानस्थल चुनावी नारा भएको भनी गरिने आलोचना सबैका निम्ति हितकर नभएको र यस्तो जुटेर काम गर्ने बेलामा खुट्टा तान्ने प्रवृत्ति राम्रो नभएको बताए ।

डा. खड्काले उदयपुरमा  भारत सरकारको सहयोगले दर्जन बढी विद्यालय र क्याम्पस भवनहरु निर्माण भइसकेको बताउँदै अन्य क्षेत्रमा पनि सहयोग गर्ने भारत नेपालको एक ‘सच्चा मित्र राष्ट्र’ भएको उल्लेख गरे ।

दुतावासलाई ३ वर्षअघि नै ४ वटा बस सहयोग मागे अनुसार दिने तयारी हुँदाहुँदै कोभिड महामारी आइपरेपछि रोकिएर महामारी साम्य भएपछि बस दिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद पाण्डेले बताए।

“हामीले बस सहयोग माग्दै ०७५ भदौमै दुतावासलाई आग्रह गरेका थियौँ” अध्यक्ष पाण्डेले भने, “त्यतिबेलै दिने भन्दाभन्दै कोभिडले रोकियो, कोभिड साम्य भएकाले एउटा पाइएको छ। दूतावासले अझै ३ वटा बस थपिदिने प्रतिबद्धता गरेको छ ।”

आफुले बार्ह्रखरी बढेको बिद्यालयले आज स्कुल बस उपहार पाउँदा अत्यन्त खुसी लागेको त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राइले बताइन । बिद्यालयको स्तर उन्नती गर्ने बिषयमा नगरले कुनै कसर बाँकी नराख्ने समेत कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपप्रमुख राइले बताइन ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै त्रियुगा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष सुमन्त कोईरालाले बौद्धिक अपाङ्ग विद्यार्थीहरुलाई दीर्घकालीन रुपमा व्यवस्थापन गरि उनिहरुको भविस्य समेतको जिम्मा लिने गरि काम गर्न आग्रह गरे । देशकै मुख्य १० र जिल्लाकै सबै भन्दा उत्कृष्ट बिद्यालयलाई भौतिक रुपमा पनि उत्कृष्ट बनाउन एक स्वागत गेट र बिद्यालयका पुराना संरचनालाई व्यवस्थापन गरि सडक साइडका सटरहरुलाई मर्मत गरि कम्प्लेक्स बनाएर भाडामा लाउन प्रदेश सरकार र केन्द्र सरकार सँग माग गरे ।

वडा अध्यक्ष कोइरालाले त्रियुगा मावीमा टाढा टाढा बाट समेत प्लस टु अध्ययन गर्न छात्र छात्राहरु आउने गरेकोले उनिहरुलाई बस्ने होस्टलको व्यवस्था गरि दिन मन्त्री खड्का सँग आग्रह गरे ।

त्रियुगा माविका पूर्व प्रधानाध्यापक बीरेन्द्रकुमार बस्नेतले स्थापनाकालमा ५ जना विद्यार्थीबाट सुरुवात गरिएको विद्यालय आज यो स्थान सम्म आईपुग्नु आफैमा ठूलो उपलब्धी रहेको बताए ।२०२३ सालमा स्थापना भएको बिद्यालयमा हाल २७०० विद्यार्थी पठन पाठन गर्दै आएको प्रधानाध्यापक बिष्टले बताए ।

प्रकाशित मिति: २०२२-०७-०७ , समय : १४:०७:३८ , २ वर्ष अगाडि