ओली र १० नेताबीच चर्काचर्की भएको होइनः बडाल
प्रकाशित : मंगलबार, आश्विन ०५, २०७८ , मसलापाटी
प्रकाशित : मंगलबार, आश्विन ०५, २०७८ , मसलापाटी
मसलापाटी
काठमाडौं, असोज ५ । नेकपा एमालेका नेता केशव बडालले चालू स्थायी समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र १० स्थायी समिति सदस्यहरूबीच आरोप, प्रत्यारोप, चर्काचर्की नभएको दाबी गरेका छन् । सबै नेताहरूले पार्टीलाई एकताबद्ध र सशक्त बनाउने सवालमा आफ्ना सुझाव राखेको उनले बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, ‘हिजोका स्थायी समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा १९ जना कमरेडले आफ्नो विचार राख्नुभयो । त्यहाँ पार्टीलाई एकताबद्ध र सशक्त बनाउने सवालमा कमरेडहरुले सुझाव दिएको कुरालाई १० जना नेताले प्रतिवेदनमाथि असहमति गरे भन्नु अनावश्यक हल्ला हो । पहिलो वक्ता मै थिएँ । मैले एक मिनेट पनि नछोडी बैठकमा बसेको थिएँ ।’
पार्टीका नेता घनश्याम भुसाल र भीम रावलले पनि असहमति नजनाएको र अध्यक्षसँग सवाल जवाफ नभएको पनि उनले बताए । उनले थपे, ‘घनश्याम भुसालले लिखित विचार राख्नुभएको हो । भीम रावलले पनि त्यसरी नै सुझाव राख्नुभएको हो । विगतमा भए गरेका काम कारबाहीबारे समीक्षा गर्ने सवालमा त्यस्ता विचार व्यक्त हुनु स्वाभाविक हो । पार्टीभित्र हरेक प्रतिवेदनमा छलफल हुन्छ, साझा दृष्टिकोण बनाउनका लागि सबै विचारलाई समेट्ने काम हुन्छ ।’
नेकपा एमालेलाई २०७५ जेठ २ मा जस्ताको तस्तै फर्काउने कुरा सम्भव नभएको पनि उनले बताए । उनले भने, ‘चार वर्षमा त बच्चा पनि स्कुल जाने भइसक्छ । माओवादी केन्द्रका नेताहरुलाई सामेल गराउने कुरामा हामीले फराकिलो छाती लिएर सोच्नैपर्छ । यस विषयमा आरोप, प्रत्यारोप, विवाद, चर्काचर्की गर्नु आवश्यक छैन ।’
नेता बडालले अध्यक्षको प्रतिवेदनमा कार्यदलमा रहेका रघुजी पन्तसहित पाँच नेताहरुका कारण सरकार ढलेको भन्ने अंश नरहेको पनि दाबी गरे । उनले भने, ‘त्यस्ता कुरा हल्लामात्र हुन् । एक डेढ वर्ष पुरानो कुरालाई लिएर कसैले कसैलाई बिझाउने कुरागर्नुभएको छैन ।’
कार्यकारी पदमा ७० वर्ष पुगेका नेता नरहने प्रावधानबारे एकदुई जना साथीहरुले दुई कार्यकाल भनेर सुझाव दिएको पनि उनले बताए । उनले भने, ‘त्यसलाई करेक्सन गर्ने कि नगर्ने भन्ने स्थायी समिति हुँदै केन्द्रीय समिति र विधान महाधिवेशनका प्रतिनिधिले निर्णय गर्छन् ।’ अब राष्ट्रिय एकता र पार्टी एकताको विकल्प नभएको उनको कथन छ ।रिपोर्टसनेपाल बाट
प्रकाशित मिति: २०२१-०९-२१ , समय : १०:५७:३९ , ३ वर्ष अगाडि