आफ्नै ब्राण्डबाट गुणको उडानको सुरु, बालबालिकालाई निःशुल्क

प्रकाशित : सोमबार, आश्विन ०४, २०७८ , मसलापाटी

मसलापाटी

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचालु गरेको छ ।

एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित असोज १ गते शुक्रबारबाट आफ्नो नियमित आन्तरिक उडान सुरु गरेको हो । काठमाडौं–चितवन पहिलो उडान गरेको एयरलाइन्सले दोस्रो उडान काठमाडौं–पोखरा भरेको छ ।

एयरलाइन्सले आफूहरू कसैको प्रतिस्पर्धी बनेर यस क्षेत्रमा नफर्किएको जनाएको छ । कम्पनीका सिइओ बालकृष्ण श्रेष्ठले यात्रुलाई सुरक्षित र मनोरञ्जनात्मक तरिकाले गन्तव्यसम्म पुर्याउनु आफ्नो मुख्य उदेश्य रहेको लक्ष्य भएको बताउनुभयो । पुरानै ब्राण्डमार्फत आफूले कम्पनीलाइै अघि बढाउने सोचका साथ आफूहरू आएको उहाँको भनाइ छ ।

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले दुई वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई निःशुल्क उडान र वृद्धवृद्धा र ज्येष्ठ नागरिकहरुलाई केही छुटको व्यवस्था गरेको बताउनुभयो । उहाँले पहिला आफूसँग भएको अमेरिकन विचक्राफ्ट र नयाँ जेट स्ट्रिम पाँच वटा थप गरेर ७ वटा विमान सञ्चालनमा ल्याएको बताउनुभयो ।

अहिले भरतपुर र पोखरा उडान गरिरहेको एयरलाइन्सले हप्तादिन भित्र विराटनगर, भैरहवा, सिमरा, तुम्लिङ्गटार र सुर्खेत लगायतका स्थानमा उडान भर्ने कम्पनीको योजना छ । गुणसँग २ विचक्राफ्ट १८ सिटको क्षमताका छन् भने जेटस्ट्रिम ३० सिट क्षमताका हुन् ।

२००९ मा स्थापना भएको गुण एयरलाइन्स २०१३ मा सिम्रिकमा परिवर्तन भएको थियो । कोरोनाको महामारी जारी नै रहेको कारण एयरलाइन्सले स्वास्थ्यका मापदण्ड पूर्ण रूपमा अपनाएरु उडान सुरु गरेको हो ।इमेजखबरबाट

प्रकाशित मिति: २०२१-०९-२० , समय : १५:२८:०६ , ३ वर्ष अगाडि