११ वर्षीया बालिका तीन दिनदेखि बेपत्ता

प्रकाशित : शुक्रबार, साउन २२, २०७८ , मसलापाटी

मसलापाटी

बाराको जितपुर सिमरा उपमहानगरपलिका–२२ की ११ वर्षीया बालिका सुनिता सुनार ३ दिनदेखि बेपत्ता छिन् । घरमा आएकी एक अन्जान महिलाले पसल लैजान्छु भन्दै लगेर सुनारलाई बेपत्ता बनाएको सिमरा प्रहरीले जनाएको छ । घटनामा संलग्नको आरोपमा सिमरा प्रहरीले बालिकाको मामाको छोरा पर्ने गणेश विकलाई पक्राउ गरेको छ ।
विकले विवाह गर्न भनेर लिएर गएको महिलाले बालिकालाई बेपत्ता बनाएकोले उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । अनुसन्धानको क्रममा हेटौंडा–११ ठेगाना खुलेको अन्दाजी १८–१९ वर्षकी विमला मगर नाम बताउने किशोरीले साउन १९ गते मंगलबारबाट बालिकालाई बेपत्ता बनाएको डिएसपी कुँवरले बताए । उनले हेटौंडा लगायत विभिन्न स्थानमा बालिकाको खोजी भइरहेको बताएका छन् ।
कसरी हराइन् बालिका ?
प्रहरीले पक्राउ गरेको गणेश विक पेसाले सहचालकको काम गर्छन् । सोही क्रममा उनले केही दिनअघि चितवनको मुग्लिनमा खाना खाने क्रममा ती महिलालाई भेटेका थिए । आफूले दुई दिनदेखि खाना नखाएको भन्दै ती महिलाले खाना मागेपछि विकले आफूले पकाएको खाना ती महिलालाई पनि दिएका थिए ।
खाना खाएपछि ती महिलाले अमलेखगञ्ज जान हिँडेका विकलाई आफू पनि त्यतै जाने भन्दै साथ लागेकी थिइन् । डिएसपी कुँवरको अनुसार दुईदिनसम्म ती महिला र विकसँगै बसेका थिए । त्यसपछि विकले ती महिलासँग विवाह गर्ने भन्दै साउन १८ गते बालिकाको घरसँगै रहेको बालिकाको ठूलीआमा पर्नेको घर महिलालाई लिएर गएका थिए । सो दिन उनीहरु बालिकाकै घरमा बसेको प्रहरी नायव उपरिक्षक कुँवरको भनाइ छ ।
भोलिपल्ट अर्थात १९ गते मंगलबार बिहान ११ बजेतिर महिलाले बालिकालाई पसल लैजान्छु भन्दै लिएर गएकी थिइन् । तर हालसम्म उनले बालिकालाई घर नफर्काएको र उनी आफैँ पनि बेपत्ता भएको कुँवरले बताए । महिलालाई लिएर गएका विक भने सिमरा प्रहरीको थुनामा छन् । बालिका बेपत्ता भएकै दिन ती महिलालाई बालिकासँगै उनको छिमेकीले हेटौंडाको बसपार्कमा पनि देखेको हुनाले मकवानपुर प्रहरी र सिमराको प्रहरी टोलीले बालिकाको खोजी गरिरहेको छ ।

प्रकाशित मिति: २०२१-०८-०६ , समय : ०८:३५:४९ , ३ वर्ष अगाडि